पूर्णबहादुर को सारंगी, मेरो आपा र उहाको “अहै” भनि बोलाउने साथि
“पूर्णबहादुर को सारंगी” एक पुर्णतया ब्यबसायिक चलचित्र। बुवाले आफ्नो छोराको लागि गर्ने अथाह दुख, परिश्रम, र त्यागलाइ कुशल कलाकारहरुमार्फत देखाइएको छ।
धेरैजसो नेपाली निम्न र निम्न-मध्यम बर्गिय परिवारका बुवा-आमाहरुले आफ्ना छोराछोरीको लागि यस्तै दुख गरेका छन र त्यहि कुराले धेरैको मन छोएको हुनुपर्छ।
मलाई चाहि पसले साहुबा र पुर्णेको सम्बन्ध मिठो लाग्यो, ठ्याक्कै हाम्रो आपा र उहाको “अहै” भनि बोलाउने साथि, हाम्रो छिमेकी काकाको जस्तो।
आफन्तले, गाउ-समाजले “ब्यर्थ सपना देख्छस – – आफु दुख मात्र पाउछस – – सक्दैनस छोरी पढाउन – – छोरी पढाएर के काम, छोडेर जान्छन, अरुको चुलो पोत्ने जात – – आफ्नो औकात भन्दा ठुलो सपना देखेर मात्र हुन्न” भनि हतोत्साहित बनाउदा, सय-हजार सापटी नपट्त्याउदा, उनै काकाले “बच्चाहरुले राम्रो पढिराकोछन है – – ल यतिमात्र छ अहिले अहै काम चलाईराख न – – दिइहाल्छौ नि, सकेको बेला देउ न” भनेर मेरो आपालाइ बेलाबेला अड्याईराखेको हो उहाले।
कहिलेकाहि धेरै केहि दिनुपर्दैन, कसैको सपनामा अविस्वास नगरिदिए नि धेरै हुन्छ। चुपचाप थोरै विश्वास देखाइदिए नि पुग्छ। सपनाहरुलाई नमारिदिए मात्र नि पुग्छ।
पुर्णेको लागि साहुबा र हाम्रो आपाको लागि उहाको “अहै”, ठ्याक्कै त्यस्तै पात्र। “पूर्णबहादुर को सारंगी” फिल्म मेरा बा र उहि काकालाई समर्पित गर्न चाहान्छु।
फिल्ममा धेरै कुरा खट्केको पनि थियो। एकदमै धेरै चाहि, बुवा पात्रलाई अर्थ दिन आमा पात्रलाई अलपत्र छोडिदिदा।
अनेक कमजोरीका बिच पनि धेरैको मन छोएको छ फिल्मले। नेपाली चलचित्र क्षेत्रमा अनेक रेकर्ड र नया भाष्य निर्माणमा योगदानका लागि साधुवाद।